पश्चिम नवलपरासी । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारीमाथि जग्गा कारोबारमा ठगी गरेको गम्भीर आरोप लागेको छ । आफ्नै व्यवसायिक साझेदारलाई जानकारी नदिई २ करोड बराबरको जग्गा बिक्री गरेको र हिसाब नगरी फरार रहेको आरोप उनीमाथि लागेको हो ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा पीडित पक्षका झविन्द्र ज्ञवालीले भण्डारीले अनुचित शैली अपनाएर जग्गा बिक्री गरेको र अहिले सम्पर्कविहीन भएर भागिहिँडेको बताए । साझेदारलाई कुनै पत्तो नदिई २०८२ फागुन २९ गते १६ कित्ता जग्गा २ करोडमा बिक्री गरियो, ज्ञवालीले भने, अहिले उनी प्रत्यक्ष सामना नगरेर भागिहिँडेका छन्, त्यसैले हामीले न्यायका लागि समाज गुहारेका छौँ ।
पीडित ज्ञवालीले यो विवादलाई सामाजिक रूपमा सुल्झाउन चाहेको संकेत गर्दै भने- ‘समाजले यो विषयमा जे निर्णय गर्छ, म त्यो मान्न तयार छु’, उनले आफूहरूले सुरुवाती चरणमा भण्डारीको व्यक्तिगत ऋण तिर्न सहयोग पुगोस् भनेर कम रकम बुझेको तर पछि विश्वासघात भएको दाबी गरे ।
यता केशव भण्डारीले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै ज्ञवाली दम्पती साझेदार नभई केवल कमिसनमा काम गर्ने व्यक्ति भएको बताएका छन् । उनले काम गरे बापतको रकम दिइसकेको र कुनै कानुनी साझेदारी नरहेको दाबी गरेका छन् ।
नवलपरासीको बर्दघाट ५ मा रहेको २२ कठ्ठा जग्गाको यो विवाद अहिले स्थानीयस्तरमा निकै पेचिलो बनेको छ ।






