काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा शनिबार दिउँसो यात्रुबाहक सवारी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । दुई बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी झापा, मोरङ र सुनसरीका यात्रुहरु घाइते भएका हुन् ।
उर्लाबारी नगरपालिका ४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९२६२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. १–०२–००१ ख ८८३१ नम्बरको बस एकआपसमा ठोक्किँएको थियो ।
दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका ३ का ५५ वर्षीय गंगाराम गुरुङ, रतुवामाई नगरपालिका ९ का ३९ वर्षीय कृष्ण लिम्बू, रतुवामाई ६ की ४२ वर्षीया छविमाया तामाङ, रतुवामाई ९ का २६ वर्षीय रुपेश तामाङ, मिक्लाजुङ गाउँपालिका ८ का ३९ वर्षीय कूलबहादुर लिम्बू, उर्लाबारी नगरपालिका ९ की ६० वर्षीया मिकुमाया लिम्बू घाइते भएका छन् ।
त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका ४ खनारका २० वर्षीय आशिष चौधरी, झापाको बिर्तामोड नगरपालिका ८ का ३४ का जितबहादुर राई, झापा गाउँपालिका ७ की ४० वर्षीया निशा लिम्बू घाइते भएका छन् ।
यस्तै दुर्घटनामा दमक ४ का ३२ वर्षीया कौशिला रिजाल, दमक १ का २५ वर्षीय सुजन लिम्बू, दमक २ का २५ वर्षीय प्रदीप लिम्बू र अर्जुनधारा नगरपालिका १ का ३९ वर्षीय रनबहादुर तामाङ समेत घाइते भएका हुन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल नेतृत्वको टोलीले तत्कालै उपचारका लागि उर्लाबारीकै अरनिको अस्पतालमा लगेको थियो । अस्पतालमा केहीको उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किएका छन् ।
अस्पतालमा उपचार गराइरहेकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको बस र बस चालकहरु उर्लाबारी २ का ३१ वर्षीय लेखबहादुर कटवाल र झापा मेचीनगर नगरपालिका ७ का ३० वर्षीय सन्देश सिवाकोटीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।






