सप्तरी । सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरकी एक १४ वर्षीया दलित बालिका गत सातादेखि बेपत्ता भएपछि घटना रहस्यमय बनेको छ । प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।
बालिका सानै उमेरमा अभिभावकविहीन भएपछि उनलाई स्थानीय महेश्वर यादवले पालन पोषणका लागि राखेका थिए । तर आफन्तले भने उनलाई शिक्षाबाट वञ्चित राखी घरेलु काममा लगाइएको र यौनशोषण भएको आशंकासहित प्रहरीमा उजुरी दिएका छन् ।
बालिकाकी भाउजुले दिएको उजुरी अनुसार महेश्वर यादव, उनका करिब २१ वर्षीय छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव र स्थानीय धर्मदेव यादवमाथि अनुसन्धान गरी कारबाहीको माग गरिएको छ । उजुरीमा बालिका गर्भवती भएको दाबी समेत गरिएको छ ।
आरोप अनुसार लामो समयदेखि बालिकालाई पालनपोषणको नाममा घरमा राखी दुर्व्यवहार गरिएको बताइएको छ । तर प्रहरीले यस विषयमा तथ्य पुष्टि हुन बाँकी रहेको जनाएको छ ।
प्रहरीका अनुसार बालिकालाई सुरुङ्गा ४ कनकपुर मुसहरी टोल बस्ने उनकी दिदी आश्यादेवी सदाले लगेको भनिए पनि त्यहाँ पनि उनी फेला परेकी छैनन् । आरोपितहरू तथा बालिकालाई लगेको भनिएका व्यक्तिहरू हाल सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले बालिका बेपत्ता र यौन शोषणको आशंका सम्बन्धी उजुरी प्राप्त भएको पुष्टि गर्दै खोजी तथा अनुसन्धान जारी रहेको जानकारी दिए । “बालिका फेला परेपछि मात्र घटनाको वास्तविकता खुल्नेछ,” उनले भने ।
बालिकाका अन्य आफन्तहरू समेत सम्पर्कविहीन रहेकाले घटनाले थप जटिल रूप लिएको छ । प्रहरीका अनुसार बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत अवस्था पुष्टि गरिनेछ र त्यसपछि कानुनी प्रक्रिया अघि बढ्नेछ ।




