वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पस मा पूर्वनिर्धारित परीक्षा अचानक स्थगित गरिएपछि आइतबार विद्यार्थी आन्दोलन उग्र बन्दा वीरगञ्ज दिनभर तनावग्रस्त बन्यो । आइतबार बिहानै परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूलाई मुख्य गेटमै रोकिएको थियो । आन्दोलनरत शिक्षकहरूले परीक्षा सञ्चालन हुन नसक्ने जानकारी दिएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए ।
लामो समयदेखि तयारी गरेर आएका विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएपछि विरोधमा उत्रिन बाध्य भएको बताएका छन् । विगत केही वर्षदेखि व्यवस्थापनमा देखिएको परिवारवाद र आन्तरिक विवादका कारण क्याम्पसमा शिक्षक–विद्यार्थी आन्दोलन दोहोरिँदै आएको छ । व्यवस्थापन समिति र प्राध्यापकबीचको विवाद आइतबार चर्किँदा कक्षा ११ र १२ का हजारौँ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् ।
आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरबाट नाराबाजी गर्दै प्रदर्शन सुरु गरेका थिए । ‘हाम्रो भविष्यसँग राजनीति बन्द गर’ र ‘परीक्षा रोक्न पाइँदैन’ जस्ता नारासहित उनीहरूले क्याम्पस अगाडि धर्ना दिएका थिए । त्यसपछि प्रदर्शनकारीहरू घण्टाघर चोकतर्फ अघि बढ्दै सडक अवरुद्ध गरी टायर बालेर विरोध जनाएका थिए, जसका कारण वीरगञ्जको मुख्य सडक केही समय अवरुद्ध रह्यो ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच ठेलमठेल भएको थियो भने प्रहरीले लाठीचार्जसमेत गरेको थियो । उक्त घटनामा एक विद्यार्थी घाइते भएका छन् भने तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
आक्रोशित भीडले क्याम्पसको बसमा तोडफोड गर्नुका साथै फुटपाथमा रोपिएका बिरुवाहरू नष्ट गरेको थियो । केही प्रदर्शनकारीहरूले क्याम्पस प्रमुखलाई भगाएको आरोप लगाउँदै एक युवकलाई कुटपिटसमेत गरेका थिए । घटनापछि वीरगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।
कक्षा १२ का एक विद्यार्थीले विगत एक वर्षदेखि व्यवस्थापन र शिक्षकबीचको द्वन्द्वका कारण नियमित पढाइ र आन्तरिक परीक्षा प्रभावित हुँदै आएको गुनासो गरे । “हामी बारम्बार यस्तो समस्या भोगिरहेका छौँ, अब त हाम्रो भविष्य नै अन्योलमा परेको छ,” उनले भने । अन्य विद्यार्थीहरूले पनि आफ्नो शैक्षिक सत्र जोखिममा परेको बताएका छन् ।
विद्यार्थी संगठनका प्रतिनिधिहरूले क्याम्पसलाई निजीकरणतर्फ लैजाने प्रयास भइरहेको आरोप लगाएका छन् । उनीहरूले व्यवस्थापन र प्राध्यापकबीचको शक्ति संघर्षले विद्यार्थीहरूलाई मारमा पारेको भन्दै तत्काल समाधानको माग गरेका छन् । यता क्याम्पस सञ्चालक समितिले भने शिक्षकहरूले नाजायज माग राखेर आन्दोलन गरेको आरोप लगाएको छ ।
प्राध्यापक पक्षका अनुसार उनीहरूले १६ बुँदे मागसहित व्यवस्थापनलाई पूर्वसूचना दिएका थिए । तर, व्यवस्थापनले मागप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको दाबी छ । उनीहरूले यस अवस्थालाई ‘अहंकारको लडाइँ’को संज्ञा दिएका छन्, जसको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छ ।
दिनभरको तनावपछि साँझ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको संयोजनमा त्रिपक्षीय बैठक बसेको थियो । बैठकमा क्याम्पस प्रशासन, प्राध्यापक प्रतिनिधि र विद्यार्थी अगुवाहरू सहभागी थिए । बैठकले तत्काल परीक्षा सञ्चालन गर्ने, नियमित पठनपाठन सुचारु गर्ने तथा घाइते विद्यार्थीहरूको उपचारको व्यवस्था गर्ने सहमति गरेको छ ।
यसका साथै क्याम्पसका दीर्घकालीन समस्याहरू समाधानका लागि पुन: छलफल गर्ने निर्णय पनि गरिएको छ । अर्को बैठकमार्फत बाँकी विषय टुंग्याउने सहमतिपछि आन्दोलन स्थगित गरिएको छ ।
यस घटना प्रति स्थानीय अभिभावक तथा बुद्धिजीवीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । समयमै समाधान नगरे हजारौँ विद्यार्थीको भविष्य जोखिममा पर्ने उनीहरूको चेतावनी छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको राजनीतिक र प्रशासनिक खिचातानीले क्याम्पसको साखसमेत गिराएको उनीहरूको भनाइ छ ।
करिब चार हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पस, जुन वीरगञ्जकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिन्छ, अहिले आन्तरिक विवादका कारण संकटमा परेको छ । सरोकारवाला सबै पक्ष गम्भीर भई स्थायी समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ ।
क्याम्पस व्यवस्थापनमाथि ‘दादागिरी’को आरोप
क्याम्पस व्यवस्थापनमा खेतान परिवारको वर्चस्व रहेको आरोप उठ्दै आएको छ । स्थानीय स्रोतका अनुसार प्रशासनिक हस्तक्षेप र एकल प्रभुत्वका कारण क्याम्पसको शैक्षिक वातावरण प्रभावित भएको छ ।
पूर्व क्याम्पस प्रमुख भगवन यादवलाई उमेर हदको कारण देखाउँदै हटाइएपछि व्यवस्थापनमा एकल प्रभाव बढेको बताइन्छ । यसैबीच प्राध्यापक सुशिल भट्टराईले सामाजिक सञ्जालमार्फत व्यवस्थापन माथि ‘दादागिरी शैली’मा क्याम्पस सञ्चालन भइरहेको आरोप लगाएका छन् ।




