रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको बसन्तपुरमा आइतबार दिउँसो करेन्ट लागेर ८४ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । गुजरा नगरपालिका १ मनहर्वा घर भएकी कान्छी देवी चौधरी हाल चन्द्रपुर ८ बसन्तपुर स्थित छोरी र ज्वाईको घरमा बस्दै आएकी थिइन् ।
आइतबार दिउँसो करिब १२ बजेको समयमा घर नजिकै मोटर जडित धारामा पानी भर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । घाइते चौधरीलाई तत्कालै चन्द्रपुरस्थित निजी अस्पतालमा उपचारको लागि लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेश झाको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए । पोष्टमार्टम पश्चात चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालबाट मृतकको शव उनका छोरा जोखन चौधरीले बुझेर लगेका छन् ।




