काठमाडौं । रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका १५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट बुटवल उपमहानगरपालिका ६ पुरानो बसपार्क बस्ने गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयका अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेस प्रदेश ०३–०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालक सप्तरीको सुरुङ्गा १ का २९ वर्षीय मुकेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






