रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ पिप्रापोखरियामा सापटी रकमको विवादले हिंसात्मक रूप लिँदा आमा छोरीमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
स्थानीय ४५ वर्षीया भागमणी देवीमाथि उनका नातामा पर्ने ३५ वर्षीय देवर छोटेलाल यादवले आक्रमण गरेका हुन् । केही महिनाअघि लिएको १ लाख २० हजार रुपैयाँ फिर्ता गर्ने विषयमा विवाद चर्किँदा घटना भएको प्रहरीले जनाएको छ ।
आइतबार ई-सेवा मार्फत आएको १० हजार रुपैयाँ लिन आएका छोटेलालसँग भागमणीले बाँकी १ लाख १० हजार रुपैयाँ फिर्ता गर्न आग्रह गरेपछि विवाद सुरु भएको बताइएको छ ।
त्यसपछि आक्रोशित छोटेलालले बाँसको लौरो प्रयोग गरी भागमणी र उनकी १० वर्षीया छोरी रबिता कुमारीमाथि अन्धाधुन्ध कुटपिट गरेका थिए । कुटपिटबाट बालिका रबिताको देब्रे हात भाँचिएको छ भने भागमणीको हातमा गम्भीर चोट लागेको छ ।
दुवैको शरीरमा निलडाम देखिएको पीडित पक्षले जनाएको छ । घटनाको क्रूरता यतिमै सीमित नरही आक्रमणकारीले घर पालुवा भैंसी र बाख्रालाई समेत कुटपिट गरी मर्नासन्न बनाएको पीडितको आरोप छ ।
घटनापछि भागमणीका बुवा झगरु यादवले घाइते आमा–छोरीलाई कटहरिया बजारस्थित एक निजी अस्पतालमा उपचारका लागि लगेका थिए । हाल दुवैको प्लास्टरसहित उपचार भइरहेको छ ।
पीडितका अनुसार घटनालाई सामसुम पार्न तथा उजुरी नगर्न दबाब दिइएको छ । गाउँकै एक जनप्रतिनिधिमार्फत “उजुरी नगर्नु, गाउँमै मिलाइदिन्छु” भन्दै धम्की आएको भागमणीले बताइन् ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।




