पर्सा । पर्साको जीराभवानी गाउँपालिका १ पिपरा टोलमा सोमबार दिउँसो कुटपिटबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सायदा श्रीवास्तव रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार घटनामा संलग्न भएको आरोपमा मृतककी बुहारी २६ वर्षीया पिङ्की देवी र उनका मामाकी छोरी १६ वर्षीया गायत्री कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
स्थानीयवासीका अनुसार मृतक सायदा र उनकी बुहारी बीच लामो समयदेखि विवाद चल्दै आएको थियो । सोही क्रममा सोमबार बुहारी पिङ्की देवी र उनकी मामाकी छोरी गायत्री कुमारी मिलेर सायदामाथि कुटपिट गरेका थिए ।
उक्त कुटपिटकै कारण उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकको शव शल्यपरीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । घटना बारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्साले गरिरहेको जनाएको छ ।




