पर्सा । पोखरिया नगरपालिकामा अवस्थित प्रादेशिक अस्पतालको अवस्था दिनानुदिन जर्जर बन्दै गएको छ । एक समय दैनिक करिब २५० जना बिरामीले सेवा लिने यस अस्पतालमा अहिले सेवा कटौतीका कारण बिरामी संख्या झरेर करिब १०० मा सीमित भएको छ ।
अस्पतालमा आधारभूत सेवा नै अवरुद्ध हुन थालेपछि स्थानीयवासी मारमा परेका छन् । विशेष गरी एक्स-रे सेवा विगत दुई महिनादेखि पूर्ण रूपमा बन्द छ । ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै एक्स-रे मेसिनका आवश्यक पार्टपुर्जा हटाएर लगेपछि सेवा सञ्चालनमा आउन सकेको छैन ।
कम्पनीका अनुसार करिब साढे चार लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ । नगरपालिकाले भुक्तानी गर्ने तयारी गरेपनि समयमै प्रक्रिया नटुंगिँदा समस्या झन् गहिरिएको देखिन्छ ।
औषधि अभावले पनि बिरामीलाई थप सास्ती दिएको छ । चिकित्सकले बीमा अन्तर्गत सिफारिस गरेका औषधि समेत बिरामीले पाउन छाडेका छन् । जीवनजल, सिटामोल जस्ता सामान्य औषधिदेखि घाउका लागि आवश्यक पट्टी कपाससम्म अस्पतालमा उपलब्ध छैनन् ।
निःशुल्क वितरण हुने भनिएका ९८ प्रकारका औषधिमध्ये हाल चार पाँच प्रकार मात्र सीमित रूपमा उपलब्ध रहेको स्रोतले जनाएको छ । यति मात्र होइन, इसिजी सेवा बन्द छ भने ल्याबमा हुने थाइराइड परीक्षण समेत रोकिएको छ । जसका कारण सामान्य परीक्षणका लागि समेत बिरामीलाई निजी क्लिनिक वा टाढाका अस्पताल धाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।
जिल्ला अस्पतालबाट स्तरवृद्धि गरी प्रादेशिक अस्पताल बनाइए पनि सेवा विस्तार हुनुको सट्टा खुम्चिँदै गएको भन्दै कर्मचारी र सेवाग्राही दुवै असन्तुष्ट छन् । स्थानीयवासीका अनुसार नाममा ‘प्रादेशिक’ भएपनि सेवाको स्तर भने झन् खस्किँदै गएको छ ।
अस्पताल व्यवस्थापन र पोखरिया नगरपालिकाले तत्काल बक्यौता भुक्तानी, औषधि आपूर्ति तथा बन्द सेवाहरू पुनः सञ्चालनमा ल्याउन प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । अन्यथा, स्वास्थ्य सेवा लिन सर्वसाधारणलाई झन् कठिनाइ भोग्नुपर्ने अवस्था आउने निश्चित छ ।




