बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक सेवानिवृत्त शिक्षकसहित दुई जनाको मृत्यु भएको छ । पछिल्लो समय तीव्र गति र सडक सुरक्षामा लापरबाहीका कारण दुर्घटना बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका अनुसार रौतहटको सङ्ग्रामपुर घर भई जीतपुरसिमरा २ मा बसोबास गर्दै आएका ६२ वर्षीय सेवानिवृत्त शिक्षक केदारप्रसाद शर्माको सवारी दुर्घटनामा ज्यान गएको हो ।
उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित रजघट्टाबाट डुमरवानातर्फ जाँदै गरेका दुई ट्याक्टरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो । सो क्रममा ना ७ त ५२५६ नम्बरको ट्याक्टरले मोटरसाइकलमा सवार शर्मालाई बिहान करिब ९:४५ बजे ठक्कर दिएको प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र चालक १७ वर्षीय सन्देश कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच आइतबार राति भएको अर्को दुर्घटनामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । जीतपुरसिमरा २२ मा बा प्र ०१–००६ ख ९९७७ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्र ३–०२–०१३ प ३०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गोरखा निवासी ३५ वर्षीय रामकुमार कोइरालाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।
लगातार भइरहेका यस्ता दुर्घटनाले सडक सुरक्षा व्यवस्थापनमा थप कडाइ आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । प्रहरीले दुवै घटना बारे थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।






