मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका ११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तार पन्छाउने क्रममा करेन्ट लाग्दा गोले गम्भीर घाइते भएका थिए ।
वडा नम्बर ११ का वडाध्यक्ष गोपाल न्यासुर लामाका अनुसार सडकमा झुन्डिएको तार हटाउन खोज्दा उनी दुर्घटनामा परेका हुन् । गम्भीर अवस्थामा रहेका गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
विद्यालय जाँदै गरेका विद्यार्थीहरूले सडकमा तारमा बेरिएर लडिरहेको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए । त्यसपछि उनको उद्धार गरिएको थियो ।
गाउँमा केही दिनदेखि विद्युत् सेवा अवरुद्ध रहेकामा पुनः जडान भएको जानकारी नहुँदा तारमा करेन्ट प्रवाह भइरहेको थाहा नपाई पन्छाउने क्रममा दुर्घटना भएको अनुमान गरिएको छ ।
गोले वडा कार्यालयमा बैठकमा सहभागी हुन जाँदै गर्दा उक्त घटना भएको हो । उनी २०७४ सालको स्थानीय तह निर्वाचनदेखि निरन्तर वडा सदस्यमा निर्वाचित हुँदै आएका थिए ।






