सर्लाही । सर्लाहीको ईश्बरपुर नगरपालिकामा “लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”को भव्य रुपमा स्थापना गरिएको छ । “लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”का प्रतिनिधिहरुले सोमबार बाजा गाजासहित बयलबास बजार भरि र्याली समेत गरेको “लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”का सदस्य मूकेश सार्फीले जानकारी दिए ।
ईश्वरपुर नगरपालिका ६ बयलवासमा सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले लायन्स क्लबको औपचारिक स्थापना गरिएको सार्फीले बताए । “ क्लबले स्थानीय स्तरमा सेवा, सहयोग र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्यका साथ आफ्नो औपचारिक यात्रा प्रारम्भ गरेको हो ।
उक्त औपचारिक घोषणा कार्यक्रम बयलवासस्थित गल्ला व्यापार संघको भवनमा एक विशेष समारोहका बीच सम्पन्न गरिएको छ । कार्यक्रममा लाइन्स कल्ब इन्टरनेस्नल अन्तर्गतको डिष्ट्रिक ३२५ एच का एरियाको अर्डिनेटर राजकुमार न्यौपानेले क्लब स्थापनाको औपचारिक जानकारी गराउँदै लायन्स अभियानको मूल उद्देश्य बारे प्रकाश पारे ।
उनले लायन्स क्लबले विश्वभर मानव सेवा, विपद् राहत, स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै ईश्वरपुरमा स्थापना भएको यस क्लबले पनि ती क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नवगठित क्लबको अध्यक्षमा डा. आलोक कुशवाहा चयन भएका छन् । उनको नेतृत्वमा क्लबले आगामी दिनहरूमा विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेको छ । क्लबमा अन्य पदाधिकारी तथा सदस्यहरू पनि समावेश गरिएका छन्, जसले सामूहिक रूपमा समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष कुशवाहाले आफ्नो मन्तव्यका क्रममा क्लबलाई पारदर्शी, उत्तरदायी तथा परिणाममुखी ढंगले सञ्चालन गरिने बताउँदै स्थानीय समुदायको आवश्यकता पहिचान गरी लक्षित कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा लाइन्स कल्ब अफ लालबन्दि सिटीलाई मातृ संस्थाको रूपमा प्रस्तुत गरिएको थियो । सो अवसरमा उक्त क्लबका अध्यक्ष रेवन्तराज तिमल्सिनाले सभाध्यक्षता ग्रहण गरेका थिए ।
प्रमुख अतिथिका रूपमा डिष्ट्रिक गर्भनर रवीन्द्रबहादुर प्रधानको उपस्थिति रहेको थियो भने ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यको विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । प्रमुख अतिथि प्रधानले आफ्नो सम्बोधनका क्रममा लायन्स क्लबले समाजमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै नयाँ क्लबको स्थापना स्थानीय स्तरमा सकारात्मक परिवर्तनको सुरुवात हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी, नगर प्रमुख आचार्यले स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । कार्यक्रममा ईश्वरपुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, लायन्स क्लबका पूर्व तथा वर्तमान पदाधिकारीहरू लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।
क्लबले विशेष गरी स्वास्थ्य शिविर सञ्चालन, नि:शुल्क आँखा परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयहरूमा शैक्षिक सामाग्री वितरण, वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान, सरसफाइ कार्यक्रम तथा विपन्न परिवारलाई सहयोग जस्ता गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।
साथै, क्लबले विपद्को समयमा राहत तथा पुनस्थापना कार्यमा सक्रिय सहभागिता जनाउने, महिला सशक्तीकरण तथा बालबालिकाको हक अधिकारका क्षेत्रमा काम गर्ने र समाजमा देखिएका विभिन्न सामाजिक समस्याहरूको समाधानका लागि जनचेतना अभिवृद्धि गर्ने लक्ष्य पनि लिएको छ । यसले स्थानीय युवाहरूलाई स्वयंसेवकको रूपमा संलग्न गराउँदै नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वको भावना विस्तार गर्ने अपेक्षा गरिएको छ ।
समग्रमा, “लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”को स्थापना ईश्वरपुर क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले स्थानीय स्तरमा सेवा, सहकार्य तथा सामाजिक विकासका नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ ।
आगामी दिनमा क्लबले प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने र मानव सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिएको “लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”का सदस्य मूकेश सार्फीले जानकारी दिए ।




