धनुषा । धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल पूर्व-पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको म प्र ०२–००८ प १९८९ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ०२–००१ च १६७८ नम्बरको महेन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिंदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार सो दुर्घटनामा धनुषाधाम नगरपालिका ६ का ५५ वर्षीय समीम खानको मृत्यु भएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसैगरी मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका ४ निवासी सत्यनारायण सिंहका ५० वर्षीय छोरा विनोद सिंह घाइते भएका छन् ।
घाइते सिंहको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिई ढल्केवर प्रहरी चौकीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।




