पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध हुक्का फ्लेवर बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेड क्वाटर हरपुर (अमानिगंज) का डिएसपी प्रमोद खड्काका अनुसार सुस्ता ५ तरैनी स्थित सीमा क्षेत्रबाट उक्त सामान नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी सई सत्यनारायण यादवको कमाण्डमा खटिएको बी.ओ.पी. बलिनगरको टोलीले शुक्रबार बेलुकी ६ बजे भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ५,९५० पिस (२४ कार्टुन) हुक्का फ्लेवर फेला पारेको थियो । बरामद सामानको बजार मूल्य करिब रु एघार लाख नब्बे हजार रहेको छ ।
तस्करीमा प्रयोग गरिएका ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सामान र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शनिबार आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।






