सर्लाही । युवकमाथि भएको चक्कु प्रहार घटनाका आरोपितहरू अझै पक्राउ नपरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार पीडित मुकेशकुमार ठाकुरले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् ।
२०८१ चैत १ गते साँझ करिब ८ बजे बस बरिया गाउँपालिका २ मानपुर ब्यारेज नजिक सडकमा ठाकुरमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो ।
घटनापछि पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी दिन खोज्दा अस्वीकार गरिएको आरोप लगाइएको छ । तत्कालीन प्रहरी प्रमुख डीएसपी गौतम थापाले घटनालाई दबाउने प्रयास गरेको पीडितको भनाइ छ । हुलाकमार्फत पठाइएको जाहेरी समेत प्रहरीले दर्ता नगरेको आरोप छ ।
न्यायका लागि पीडित पक्ष उच्च अदालत पुगेपछि अदालतले नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति धनकौल गाउँपालिका ३ का सुरेन्द्रप्रसाद सिंहसहित १० जनालाई प्रतिवादी बनाउँदै पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि असोज १४ गते मात्रै इप्रका बरहथवामा मुद्दा दर्ता गरिएको थियो ।
तर, अदालतबाट पक्राउ पुर्जी जारी भइसक्दा पनि आरोपितहरू हालसम्म पक्राउ नपरेको भन्दै पीडितले गुनासो गरेका छन् । प्रभाव र पहुँचका आधारमा दोषीलाई संरक्षण गरिएको आशंका व्यक्त गर्दै उनले प्रशासनसँग निष्पक्ष छानबिन र शीघ्र कारबाहीको माग गरेका छन् ।




