पश्चिम नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का सांसद बिक्रम खनालले सुस्ता पुगेर स्थानीय बासिन्दाका समस्याबारे स्थलगत जानकारी लिएका छन् ।
भ्रमणका क्रममा सुस्तावासीहरूले नारायणी नदीको कटान तथा डुबानको स्थायी समाधान, परापूर्वकालदेखि जारी लालपुर्जा र नागरिकता सम्बन्धी कानुनी जटिलताका साथै शिक्षा, स्वास्थ्य र यातायातका समस्याबारे सांसदको ध्यानाकर्षण गराएका छन् ।
सांसद खनालले सुस्ताको भूमि र नागरिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै यी समस्या समाधानका लागि संसद् र सरकार दुवै तहमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले निर्माणाधीन तटबन्धको अनुगमन गर्दै गुणस्तरीय काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुका साथै स्थानीय जनप्रतिनिधिहरूसँग आवश्यक समन्वय गर्न आग्रह गरे ।






