रौतहट । रौतहट प्रहरीले गौर नगरपालिका मुख्य सडकमा सवारी साधन चेकजाँच गर्ने क्रममा २० लाख रुपैयाँभन्दा बढी मूल्यका माल सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, भन्सार छली गरेर ल्याइएका माल सामानसहित २० वटा अवैध मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
गौर नगरपालिका ४ मा गरिएको चेकजाँचका क्रममा खाद्यान्न तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको भन्सार तिरेको कुनै पनि कागजात फेला नपरेपछि ६७ हजार ८५० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । त्यसैगरी, विभिन्न मितिमा सवारी साधन जाँचका क्रममा कागजपत्रविहीन २० वटा मोटरसाइकल बरामद गरिएको छ ।
ती मोटरसाइकलहरूको कुल मूल्य १९ लाख ७७ हजार ८५० रुपैयाँ कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डीएसपी विष्णु प्रदीप वस्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बरामद गरिएका सामान र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिइएको छ ।
यसैबीच, भन्सार क्षेत्रमा कडाइ हुँदा हुँदै पनि अवैध रूपमा सामान भित्रिने घटनाले प्रश्न उठाएको छ । भन्सार नाकामा सिसिटिभी जडान हुँदाहुँदै पनि चुहावट रोक्न प्रभावकारी कदम किन चालिएन भन्ने विषयमा स्थानीयस्तरमा चासो व्यक्त गरिएको छ । राजस्व चुहावटजस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायहरूको प्रभावकारी निगरानी र इमान्दारिता अपरिहार्य रहेको देखिन्छ ।




