वीरगंज । वीरगंज महानगरपालिका भित्रका विभिन्न वडाहरूमा सडक अतिक्रमणको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । निर्माण सामाग्रीको अव्यवस्थित थुप्रो, छाडा चौपायाको खुला विचरण र कमजोर अनुगमनले सहरको दैनिक जीवन कष्टकर बनाउँदै लगेको स्थानीयको गुनासो छ ।
स्थानीय बासिन्दाहरूका अनुसार, महिनौँसम्म सडकमै इँटा, बालुवा र गिट्टी जस्ता निर्माण सामाग्री थुपारेर राखिने प्रवृत्ति सामान्यजस्तै बनेको छ । कतिपय स्थानमा त घर निर्माणका लागि आवश्यक मसला समेत सार्वजनिक सडकमा नै तयार पारिने गरिएको देखिन्छ । यसले सवारी आवागमनमा बाधा पुर्याउनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको छ ।
त्यसैगरी बाख्रा, हाँस, कुखुरा लगायतका छाडा चौपायाहरू सडकमा छोडिने क्रम पनि उस्तै छ । सवारी साधन चलाउनै कठिन हुने अवस्था सिर्जना भएको स्थानीयहरू बताउँछन् । महानगरपालिकाले नगरप्रहरी परिचालन गरेपनि उनीहरूको सक्रियता सीमित क्षेत्रमा मात्रै देखिने गरेको आरोप छ ।
विशेष गरी घण्टाघर क्षेत्र र महानगर कार्यालय आसपास केन्द्रित अनुगमनले अन्य वडाहरू उपेक्षित भएको अनुभूति स्थानीयले गरेका छन् । यस विषयमा सञ्चारमाध्यमहरूले पटक पटक ध्यानाकर्षण गराए पनि ठोस सुधारका कदम नदेखिएको गुनासो छ ।
वडास्तरमा समेत अतिक्रमण नियन्त्रण गर्न प्रभावकारी पहल हुन नसकेको बताइन्छ ।
यसैबीच नगरप्रमुख राजेशमान सिंह माथि सीमावर्ती केही वडामा मात्र ध्यान केन्द्रित गरेको आरोप लागेको छ । अन्य वडाहरूमा अनुगमन र व्यवस्थापनमा कमी देखिएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।
शिक्षा क्षेत्रमा पनि उस्तै चुनौती
वीरगंज महानगरपालिका ३१ मा विद्यालयहरूको संख्या उल्लेख्य भएपनि विद्यार्थी उपस्थिति न्यून रहेको पाइएको छ । यस वडामा माध्यमिक, आधारभूत र प्राथमिक तहका गरी १२ वटा विद्यालय सञ्चालनमा छन्, तर प्रभावकारी अनुगमनको अभाव देखिन्छ ।
बेलवा टोलस्थित आदर्श बाल विकास आधारभूत विद्यालयमा हालै भएको अनुगमनले थप गम्भीर प्रश्न उठाएको छ । वडाध्यक्ष जीतेन्द्रप्रसाद यादव निरीक्षणका क्रममा विद्यालय पुगेका बेला विद्यार्थीको हाजिरी रजिस्टर लुकाइएको आरोप लगाइएको छ ।
अनुगमनका क्रममा हाजिरीमा देखिएको विद्यार्थी सङ्ख्या र वास्तविक उपस्थितिमा ठूलो अन्तर पाइएको बताइएको छ । अझ, परीक्षाका क्रममा शिक्षकहरूले नै प्रश्न पत्रमा उत्तर लेखेर विद्यार्थीलाई दिने गरेको आरोप समेत सार्वजनिक भएको छ ।
यस विषयमा महानगरपालिकालाई जानकारी गराइएको भएपनि तत्काल सुधारका संकेत देखिएका छैनन् । महानगरका शिक्षा प्रमुख आनन्द लामिछानेका अनुसार, घटनामा संलग्न शिक्षकसँग स्पष्टीकरण माग गरिएको छ ।
प्रश्न उस्तै: समाधान कहिले ?
सडक अतिक्रमणदेखि शिक्षा क्षेत्रमा देखिएका कमजोरीसम्म, वीरगंज महानगरपालिकामा व्यवस्थापन र अनुगमनको प्रश्न गम्भीर रूपमा उठिरहेको छ । स्थानीयको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका यी समस्याहरू समाधानका लागि प्रभावकारी कदम कहिले चालिन्छ भन्ने जिज्ञासा अझै अनुत्तरित छ ।




