सर्लाही । सत्ताको आडमा वर्षौंदेखि अवैध रुपमा सञ्चालनमा रहेको सर्लाहीको बसबरिया गाउँपालिका ३ कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्तत: बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनले हिँजो (सोमबार) दिउँसो उक्त क्रसर उद्योग बन्द गराएको हो । देशैभर अवैधानिक रुपमा संचालित क्रसरहरु बन्द गराउन गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ ।
कानुन तथा मापदण्ड विपरित, दर्ता नै नगरी, नवीकरण नभएका, संचालन अनुमति नै नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृहले सोमबार दशैभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनात्मक पत्र पठाएको थियो ।
सोहि निर्देशन अनुसार सोमबार दिउँसो प्रहरीको टोलि खटिएर क्रसर उद्योग बन्द गराईएको हो । उक्त क्रसर उद्योग अबैध रुपमा संचालन भईरहेको थियो त्यहि भएर आज बन्द गरिएको हो ।’ सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले भने ।
प्रशासनले विगतमा पनि पटक पटक अनुगमन गरी उद्योग बन्द गराए पनि राजनीतिक संरक्षणका कारण पुन: सञ्चालन हुँदै आएको थियो । गत वर्ष पनि प्रशासनले बन्द गराएपछि उद्योग सञ्चालकले रातको समयमा क्रसर चलाउने र दिउँसो बन्द राख्ने गरेका थिए ।
यस पटक भने तत्काल पुन: सञ्चालन हुन नदिन विद्युत् लाइन नै काटिएको जनाइएको छ । उद्योग बस्ती नजिकै सञ्चालनमा रहँदा स्थानीयवासी प्रत्यक्ष प्रभावित हुँदै आएका थिए । त्यस्तै, उद्योगबाट निस्कने धुलो र प्रदूषणका कारण नजिकै रहेको एक विद्यालय समेत वर्षौंदेखि प्रभावमा परेर बन्दजस्तै अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।




