रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले ५० हजार रुपैयाँ घुससहित जिल्ला अदालत रौतहटका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार कार्यालयमै घुस लिइरहेको अवस्थामा अदालतका कर्मचारी (डिट्ठा) लवकुमार सिंहलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनलाई नगद रकमसहित पक्राउ गरिएको आयोगको हेटौंडा कार्यालयले पुष्टि गरेको छ ।
अख्तियारका अनुसार सिंहले कुन प्रयोजनका लागि घुस लिएको भन्ने विषय खुल्न बाँकी छ । यो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
परोहा नगरपालिका–बसन्तपट्टी घर भएका सिंह करार सेवामा कार्यरत कर्मचारी हुन् । उनी जिल्ला अदालत रौतहटको तहसिलदार फाँटमा कार्यरत थिए ।




