रौतहट । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको गौर वितरण केन्द्रले बक्यौता नतिर्ने ग्राहकविरुद्ध विद्युत लाइन काट्ने अभियान तीव्र बनाएको छ । गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार अभियान अन्तर्गत एकै दिन राजदेवी नगरपालिका, ईशनाथ नगरपालिका, गरुडा नगरपालिका र माधवनारायण नगरपालिकाको विद्युत आपूर्ति अवरुद्ध गरिएको थियो ।
बारम्बार आग्रह गर्दा पनि बक्यौता रकम नतिरेकाले बाध्य भएर लाइन काट्नु परेको उनले बताए । विद्युत सेवा अवरुद्ध भएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक रकम बुझाएपछि पुन: लाइन सुचारु गरिएको वितरण केन्द्रले जनाएको छ ।
गौर वितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गत पर्ने गौर नगरपालिका, दुर्गा भगवती नगरपालिका, गढीमाई नगरपालिका, परोहा नगरपालिका, राजपुर नगरपालिका, यमुनामाई गाउँपालिका तथा वृन्दावन नगरपालिका लगायतका स्थानीय तहका विद्यालय, स्वास्थ्य संस्था, नगरपालिका तथा वडा कार्यालय र सडक बत्तीको महसुल लामो समयदेखि बक्यौता रहेको जनाइएको छ ।
प्रमुख यादवले पहिलो चरणमा सडक बत्ती बाहेकका बक्यौता उठाउने कार्य सुरु गरिएको स्पष्ट गर्दै कुनै पनि बहानामा महसुल नबुझाउने प्रवृत्ति सह्य नहुने चेतावनी दिए । उनका अनुसार गत साउन १ गतेदेखि चैत १६ गतेसम्म २ हजार ४५ जना ग्राहकको लाइन काटेर कुल ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपैयाँ बक्यौता असुल गरिएको छ ।
तीमध्ये १ हजार ७७२ जनाले ५ करोड ५० लाख १५ हजार ३७७ रुपैयाँ तिरेपछि पुन: सेवा सुचारु गराएका छन् । त्यसैगरी पुन: जडान दस्तुर (८ प्रतिशत) मार्फत १५ लाख ३ हजार ६५७ रुपैयाँ राजस्व संकलन गरिएको छ । कालोसूचीमा रहेका ६० उपभोक्ताबाट २४ लाख ४९ हजार ६३५ रुपैयाँ असुल गरिएको वितरण केन्द्रले जनाएको छ ।
विद्युत चुहावट नियन्त्रणतर्फ पनि अभियान कडाइ गरिएको छ । यसक्रममा १२० जनालाई कारबाही गर्दै १५ लाख ७६ हजार १२४ रुपैयाँ जरिवाना असुल गरिएको गौर वितरण केन्द्रले जनाएको छ ।




