सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै भन्सार छलीका सामान बरामद गर्ने क्रम तीव्र भएको छ । सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामानसहित एक अटो र एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले बिलबिजक तथा भन्सार प्रज्ञापन पत्रविहीन किराना सामानसहित एउटा अटो नियन्त्रणमा लिएको जनाएको छ । चन्द्रनगर गाउँपालिका ४ पोखरिया क्षेत्रमा विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेडक्वार्टर गण अर्गवा तथा सीमा सुरक्षा गुल्म, मलंगवाबाट खटिएको गस्ती टोलीले सवारी चेकजाँचका क्रममा उक्त अटो फेला पारेको हो ।
सशस्त्र प्रहरीका अनुसार ज १ ह ४४५१ नम्बरको अटोमा भारतबाट भन्सार छली गरी लुकाइछिपाइ ल्याइँदै गरेको करिब ३४ किलो मरिच, करिब ७ बोरा मैदा, करिब ४५ किलो पाउडर दूध, १३५ डिब्बा पेढा तथा ३० डिब्बा चकलेट बरामद गरिएको छ ।
उक्त अटोमा सवार सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवास निवासी करिब ३० वर्षीया बबी महतो (उपनाम ‘चस्मा बाली’) लाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सीमा सुरक्षा गुल्म, मलंगवाले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी स्रोतका अनुसार बबी महतो लामो समयदेखि त्रिभुवननगर नाकाबाट किराना लगायतका विभिन्न सामान भन्सार छली गरी नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको बताइएको छ ।
सुरक्षाकर्मीका अनुसार सामान नियन्त्रणमा लिइएपछि उनले आफूलाई गृह मन्त्रालयसम्म पहुँच रहेको भन्दै सुरक्षाकर्मीलाई सरुवा गराइदिने, भिडियो बनाएर फसाइदिने तथा जागिरसमेत खोसिदिने धम्की दिने गरेकी थिइन् । साथै, भन्सार छलीका सामान सहज रूपमा ल्याउन दिनुपर्ने भन्दै सार्वजनिक स्थलमै सुरक्षाकर्मीलाई दुर्व्यवहार गर्ने गरेको आरोप पनि लगाइएको छ ।
नियन्त्रणमा लिइएको अटो तथा सामान आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाइएको छ । भन्सार कार्यालयका अनुसार अटोको मूल्य रु ३ लाख ५० हजार र किराना सामानको मूल्य रु १ लाख २७ हजार १२५ गरी कुल रु ४ लाख ७७ हजार १२५ बराबरको सामान भन्सार दाखिला गरिएको छ ।




