डोटी । डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटना जिल्ला दिपायल सिलगढी नगरपालिका ५ चिसापानीमा भएको हो । धनगढीबाट अछामतर्फ जाँदै गरेको सु प्र प्र ०२–००१ ज ०२३९ नम्बरको इभि हाइस शनिबार बिहान ४:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा पूर्वीचौकी गाउँपालिका ५ नुवाघरकी ५१ वर्षीया अनिता साउद र सोही ठाउँका २६ वर्षीय प्रकाश साउद घाइते भएका छन् । त्यस्तै, अछामको चौरपाटी गाउँपालिका ६ दुनिकी २५ वर्षीया कमला साउद र चौरपाटी १ बयालीकी १९ वर्षीया कमला थापा पनि घाइते भएका छन् ।
घाइतेहरूको उपचार दिपायलस्थित शैलेश्वरी अस्पतालमा भइरहेको छ । अस्पतालका अनुसार घाइतेहरूको अवस्था अहिले खतरामुक्त रहेको जानकारी दिएको छ । अछामको चौरपाटी गाउँपालिका १ सिउडीका ४५ वर्षीय शंकर शाहले चलाएको उक्त गाडीमा १५ जना सवार थिए । प्रहरीका अनुसार हाइस सडकबाट अनियन्त्रित भई नालीमा पल्टिँदा दुर्घटना भएको हो ।






