सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा अवस्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय परिसरबाट प्रहरीले आइतबार नौ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीका अनुसार मालपोत कार्यालयबाट सात जना र यातायात कार्यालयबाट दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अधिकांश व्यक्तिहरू लेखापढी व्यवसायमा संलग्न रहेको बताइएको छ । सरकारको निर्णय विपरीत कार्यालयभित्र प्रवेश गरी सेवाग्राहीलाई सहजीकरण गर्ने नाममा गतिविधि गरिरहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विशेष गरी कार्यालय बाहिर बसेर लेखापढी तथा अन्य सहयोग सेवा प्रदान गर्नेहरूलाई लक्षित गर्दै कारबाही गरिएको हो । पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको छ र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सरकारको निर्देशन अनुसार सर्लाहीको मलङ्गवा, हरिवन र बरहथवामा रहेका नापी, मालपोत तथा अन्य सरकारी कार्यालयहरूमा सेवाग्राही बाहेक अन्य व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ ।
यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र प्रहरी इकाइहरूले ‘बिचौलिया प्रवेश निषेध’ लेखिएका सूचना बोर्डहरू समेत स्थापना गरेका छन् । प्रशासनले यस अभियानलाई निरन्तरता दिँदै सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।




