काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन पदाधिकारी र कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा बायो घुम्ती शौचालय खरिद प्रक्रियामा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार परिषद्ले सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा बिना सोझै खरिद प्रक्रिया अपनाउँदै मिलेमतोमा मूल्य अस्वाभाविक रूपमा बढाएको थियो । भारतको टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन्सबाट करिब ३३ लाख ५० हजार रुपैयाँमा खरिद गर्न सकिने बायो घुम्ती शौचालयलाई ईशिता ट्रेडर्ससँगको मिलेमतोमा बढाएर ५५ लाख २ हजार रुपैयाँभन्दा बढीमा किनिएको पाइएको छ ।
यस प्रकरणमा परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सूडी तथा ईशिता ट्रेडर्सका प्रोप्राइटर पशुपति नाथ पाठकविरुद्ध मुद्दा दायर गरिएको छ ।
त्यस्तै, ५० थान पोर्टेबल शौचालय खरिदमा पनि करिब ५५ लाख रुपैयाँ अनियमितता भएको अभियोगमा सिंहसहित ५ जनाविरुद्ध अर्को मुद्दा चलाइएको छ । बजार मूल्य करिब ४२ लाख रुपैयाँ रहेको सामानलाई बढाएर झन्डै ५५ लाख रुपैयाँमा सोझै खरिद सम्झौता गरिएको आरोपपत्रमा उल्लेख छ । अख्तियारले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत बदनीयतपूर्वक कार्य गरी राज्यकोषमा क्षति पुर्याएको निष्कर्ष निकालेको छ ।




