सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथान र लालबन्दी नगरपालिका १५ देउरालीलाई जोड्ने गरी फूलजोर खोलामा पुल निर्माण हुने भएको छ । अहिलेसम्म पुल नहुँदा घारिबथान र परवानीपुर क्षेत्रका स्थानीय बर्खायाममा बाढीले आउजाउ ठप्प हुने समस्या भोग्दै आएका थिए । अब मधेश प्रदेश सरकारले लगानी गर्दै पक्की पुल निर्माण कार्य प्रारम्भ गर्न लागेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । क्रमागत रुपमा बजेट विनियोजन हुँदा यस वर्ष काम सुरु भएपनि पुल निर्माण पूरा हुन केही वर्ष लाग्ने अनुमान गरिएको छ । सडक कालोपत्रेको काम सम्पन्न हुन लागेकाले अब पुल निर्माण प्राथमिकतामा राखिएको छ । चालु वर्ष एक करोड रुपैयाँबाट काम सुरु गरी आगामी वर्षहरुमा पनि आवश्यक बजेट विनियोजन गर्ने योजना बनाइएको छ ।
मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत अहिले लालबन्दी नगरपालिका ११ बाहुनीदेखि ईश्वरपुर नगरपालिका १२ घारिबथानसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको छ । सोही सडक अन्तर्गत फूलजोर खोलामा पक्की पुल निर्माण हुने भएको हो ।
बाहुनीदेखि परवानीपुर चोकसम्मको छ किलोमिटर सडक कालोपत्रेका लागि यसै वर्ष १३ करोड १२ लाख ३७ हजार ५०३ रुपैयाँ २३ पैसामा ठेक्का लागेर काम भइरहेको छ । घारिबथानको चाकलटोल क्षेत्रमा पनि सडक कालोपत्रेको तयारी अन्तर्गत बेस बिछ्याउने काम भइरहेको छ ।
खोलामा पुल बनेपछि बर्खायाममा वारपार ठप्प हुने समस्या अन्त्य हुने स्थानीयको अपेक्षा छ । हिउँदमा केही समस्या नहुँदा पनि बर्खा लागेपछि बाढीले आवतजावत कठिन हुने अवस्था रहँदै आएको थियो । चुरेको फेदीमा पर्ने बाहुनीदेखि घारिबथानसम्मका विभिन्न गाउँका सडक कालोपत्रे भइरहेकोमा स्थानीय खुशी छन् । परवानीपुर चोकदेखि देउरालीसम्मको सडक यसअघि नै कालोपत्रे भइसकेको थियो ।
घारिबथानको चाकलटोल क्षेत्रको सडक कालोपत्रेपछि लालबन्दी–बाहुनीदेखि चुरेपाखा तलको बाटो भएर महोत्तरीको बर्दिवास नगरपालिका ११ खयरमारासम्म सहज रूपमा आवतजावत गर्न सकिने जनाइएको छ । चुरेफेदीकै सडक अन्तर्गत लालबन्दी नगरपालिका ११ हीरापुर र लालबन्दी नगरपालिका १३ जियाजोरलाई जोड्ने लखन्देही खोलामा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
भर्खरै हरिवन नगरपालिका १ मा पटौना र भोक्टेनी गाउँ जोड्ने पक्की पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । फूलजोर र लखन्देहीका पुलहरू निर्माण सम्पन्न भएपछि बागमतीदेखि बाँके खोलासम्म वैकल्पिक सडक तयार भई जनजीवन सहज हुने अपेक्षा गरिएको छ । सडक र पुल तयार भएपछि यस क्षेत्रका कृषि उपज सजिलै बजारमा पुग्ने र आकस्मिक बिरामी पर्दा अस्पतालसम्म छिटो पुग्ने अवस्था सिर्जना हुने स्थानीयले बताएका छन् ।




