सप्तरी । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले आफ्नो स्वामित्वको जग्गा संरक्षणका लागि सक्रियता देखाएको छ । राजविराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिले बनाइएको संरचना तत्काल हटाई दिन राजविराज नगरपालिकालाई औपचारिक पत्राचार गरिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नं. ६ (साबिक वडा नं. ७) स्थित कित्ता नम्बर ९० को ६ कट्ठा ६ धुर जग्गामध्ये २ कट्ठा १४ धुर जग्गामा अतिक्रमण भएको छ । सो जग्गामा नगरपालिकाले २०५४ सालमै जगदीश झा नामक व्यक्तिको नाममा घर नक्सा पास गरिदिएको पाइएको छ ।
मालपोत र नापी कार्यालयको स्रेस्ता अनुसार उक्त जग्गा पूर्ण रूपमा कोलेनिकाको स्वामित्वमा रहेको भएता पनि नगरपालिकाले २०५४/११/११ को निर्णय (च.नं. १४९३) मार्फत प्लट नं. १५ उल्लेख गरी घर नक्सा पास गरिदिएको खुलेको हो ।
सरकारी जग्गामा निजी संरचना बनेपछि यसअघि नै ‘तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोग’ र हाल ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ टंगालबाट समेत पत्राचार भई अनुसन्धान सुरु भएको थियो ।
यस विषयमा गत २२ मंसिर २०८२ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सरोकारवाला पक्षको बैठकले अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयनका लागि कोलेनिकाले राजविराज नगरपालिकालाई पत्र लेख्दै सरकारी सम्पत्तिको संरक्षण गर्न र अतिक्रमित संरचना हटाउन आवश्यक प्रबन्ध मिलाउन अनुरोध गरेको सप्तरीका प्रमुख कोष नियन्त्रक मनोज कुमार सुनुवारले जानकारी दिए ।





