रौतहट । गैंडाटारका स्थानीयको आँखा ओभाएको छैन । हरेक वर्षातमा उनीहरूको मनमा एउटै त्रास हुन्छ, चाँदी नदी कसरी तर्ने ? चन्द्रनिगाहपुरसँग जोड्ने लाइफलाइन मानिएको चाँदी नदीको पुल सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि अधुरै छ । ४६९ मिटर लामो यो पुल अहिले विकासको स्मारक होइन, राज्यको लाचारी र ठेकेदारको लापरबाहीको प्रतीक बनेको छ ।
२०७३ साल पुसमा पप्पु शिव शंकर जेभीले २५ करोड ३६ लाखभन्दा बढीको लागतमा निर्माण गर्ने गरी ठेक्का लियो । २०७६ असारसम्म काम सकिनुपर्ने थियो, तर आज २०८२ सालको संघारमा पुग्दा पनि ११ वटा स्पाम भएको यो पुल अपूरै छ । यो ९ वर्षको अवधिमा स्थानीयले विकासका नाममा पाए त केवल आश्वासन, म्याद थपको चिठी र नदी तर्दा ज्यान गुमाउनु परेको पीडा ।
कहिले कोरोनाको बहाना त कहिले आर्थिक अभावको राप । ठेकेदारले पटक पटक म्याद थप गरायो, तर कार्यस्थलमा न मेसिन देखिन्छन्, न त कामदारको चहलपहल । पुल अलपत्र परेपछि स्थानीयले अनसनदेखि आन्दोलनसम्म गरे, तर उनीहरूको आवाज कसैले सुनेन । कयौँले बिरामी अवस्थामा अस्पताल पुग्न नपाएर यही नदीको तीरमा छटपटिँनु पर्यो । कति विद्यार्थी परीक्षा दिन जान नपाएको पिडामा रहेका ती परिवारको आँसु पुछ्ने कोही छैन ।
यसैबीच, जेनजी युवा अगुवा करण देवकोटाले अबको ढिलाइ सह्य नहुने चेतावनी दिएका छन् । उनले भने- ‘यो केवल सिमेन्ट र रडको संरचना होइन, यो हजारौँ मानिसको जीवन र सुरक्षाको सवाल हो । स्थानीय, प्रदेश र संघीय सरकारले यसलाई अब प्राथमिकतामा राख्नैपर्छ ।’
तत्कालीन मन्त्री देखि उच्च पदस्थ व्यक्तिले अनुगमन गरेर निर्देशन दिएपनि पुलको अवस्था जस्ताको तस्तै रहनुले हाम्रो प्रणाली माथि प्रश्न उठाएको छ । कहिलेसम्म गैंडाटारवासीले एउटा पुलकै लागि ज्यानको बाजी लगाइरहनुपर्ने ? के राज्यको कानसम्म यी पीडित जनताको चित्कार पुग्ला ?




