बारा । एक जना स्थायी शिक्षकले साथीसँग मिलेर पाँच कक्षामा अध्ययनरत १२ वर्षीया नाबालिगको बलात्कार गरी फरार भएका छन् । डोकैला बहुअरीस्थित डोकैला माविमा सामाजिक विषयका शिक्षकले यस्तो कार्य गरेका हुन् ।
२६ वर्षीय स्थायी शिक्षक रूपेश यादवले सखुवाप्रसौनी गापा ५ निवासी एक १२ वर्षीया नाबालिगलाई २० वर्षीय युवक लड्डु यादवसँग मिलेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
गत चैत १७ गते घटना भएको हो । सो दिन शिक्षक यादव र युवक यादवले मिलेर १२ वर्षीया नाबालिगलाई ललाइफकाइ फरक फरक स्थानमा लगेर बलात्कार गरेका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार सो दिन सुरुमा लड्डु यादवको घरमा नाबालिगलाई मध्याह्न १२ देखि अपराह्न साढे ४ बजेसम्म बन्धक बनाइ बलात्कार गरिएको थियो । त्यसपछि नाबालिगलाई साँझ ५ देखि राति साढे ९ बजेसम्म भगल यादवको घरमा राखेर बलात्कार गरिएको थियो ।
चैत १७ गतेको यो घटना बारेमा परिवारले चैत १८ गते पर्सा प्रहरीमा शरिरबन्धक र जबरजस्ती करणीको मुद्दा दायर गरेपछि नाबालिगको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य परीक्षणमा बलात्कार भएको देखिएपछि प्रहरीले मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएपछि अभियुक्त यादवद्वयको खोजी कार्य हुँदा उनीहरूले फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।
स्थानीयले पनि घटनापछि दुवै जना फरार भएको जानकारी गराएका छन् । प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षणसहित मुद्दा दर्ता भएको र फरार अभियुक्त यादवद्वयको खोजी कार्य तीव्र बनाइएको जनाएको छ ।




