पर्सा । छिपहरमाई गाउँपालिका २ टिहुकीमा विद्यालयको पर्खालभित्रबाट बाटो निकाल्ने विषयमा भएको विवादले झडपको रूप लिँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई पुरुष र तीन महिला रहेका छन् ।
स्थानीयका अनुसार छिपहरमाई २ निवासी बलिस्टर साह कानूको खेतसँग जोडिएको नेराप्रावि टिहुकीको पूर्वतर्फ रहेको खेतबाट विद्यालयको पर्खालभित्रै बाटो निकाल्ने प्रयास भएपछि विवाद सुरु भएको हो । विद्यालयको जग्गाभित्रबाट बाटो किन निकाल्न खोजिएको भन्दै स्थानीय बासिन्दाले प्रश्न उठाएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ ।
विवादका क्रममा बलिस्टर साह कानू र उनका नातामा भिनाजु पर्ने विद्यालयका प्रधानाध्यापक सतरोहन साह कानूसहित सञ्जय साह, रोबिन साह, इस्राइल देवान, मोतीलाल यादव, अशोक महतो, मुक्ति साह र सीताराम साह कानू लगायत बीच भनाभन भएको थियो । त्यसपछि विवाद चर्किँदै कुटाकुटमा परिणत भएको स्थानीयले बताएका छन् ।
झडपमा बडकी टिहुकीका जुबेद आलम र दिपी यादव घाइते भएका छन् । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ । त्यस्तै, महिलातर्फ खुश्बु खातुन, बुची खातुन र जमिला खातुन घाइते भएका छन् । घाइते जमिला खातुन चार महिनाकी गर्भवती रहेको बताइएको छ ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । थप उपचारका लागि उनीहरूलाई वीरगंजस्थित स्पर्श मल्टिस्पेशियलिटी अस्पतालमा भर्ना गरिएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




