सिरहा । पक्राउ पुर्जी जारी भएपनि नगर प्रमुखलाई नियन्त्रणमा नलिइएको भन्दै सिरहा नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नगरपालिकाको सम्पूर्ण सेवा ठप्प भएको छ ।
मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पक्राउ नगरेको आरोप लगाउँदै कर्मचारीहरूले कामकाज बहिष्कार गरेपछि स्वास्थ्य, कृषि, पशु शाखादेखि वडा कार्यालयसम्मका सबै सेवा अवरुद्ध भएका छन् । सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
कर्मचारीहरूको आरोप अनुसार गत सोमबार कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौजसहित कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका रामशरणको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा मेयर यादव र नगरकै कर्मचारी रोहित मेस्तरमाथि अभद्र व्यवहारको मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रोहित मेस्तर भने पक्राउ परिसकेका छन् ।
कर्मचारीहरूले मेयर यादव सम्पर्कविहीन भएपनि अहिले घरमै रहेको सूचना आएको दाबी गर्दै प्रहरीले पक्राउ नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले पक्राउ, कानुनी कारबाही, पीडितको निःशुल्क उपचार र क्षतिपूर्तिको माग राखेका छन् । प्रहरीले भने मेयर यादवको खोजी कार्य जारी रहेको जनाएको छ ।




