वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका ९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका १ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् । उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज ९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमा चौरसियाको शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला पारिएको थियो । उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक चौरसिया वीरगन्जकै मुर्लीमा डेरा गरी बस्दै आएका थिए र उनी १० दिनको बिदा लिएर घर आएका थिए । प्रहरीले सो हत्यामा संलग्न भएको आशंकामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन् । घटनाको कारण र प्रकृति बारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिए ।






