पर्सा । वीरगंज महानगरपालिका १० मा बस्दै आएकी २० वर्षीया माही गुप्ताको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार उनी आफ्नै कोठामा अचेत अवस्थामा फेला परेकी थिइन् ।
तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रारम्भिक रूपमा परिवार तथा स्थानीय स्रोतहरूले वैवाहिक जीवनमा देखिएको तनावसँग घटनाको सम्बन्ध हुन सक्ने आशंका गरेका छन् । यद्यपि, यस बारे प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन र सबै पक्षबाट तथ्य संकलन भइरहेको बताइएको छ ।
घटना अघि उनले सामाजिक सञ्जाल टिकटकमा केही भावनात्मक सामाग्री पोस्ट गरेको जानकारी समेत बाहिर आएको छ । माही गुप्ता मोडलिङ तथा टिकटक भिडियोमार्फत सामाजिक सञ्जालमा परिचित थिइन् ।
प्रहरीले घटना सम्बन्धी थप प्रमाण संकलन, पोस्टमार्टम रिपोर्ट तथा पारिवारिक पृष्ठभूमिको अध्ययन गर्दै अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।




