सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सिरहाको नवराजपुर गाउँपालिकामा माटो तथा ग्राभेल कार्यमा भएको भनिएको अनियमितता प्रकरणमा विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सिरहाको नवराजपुर गाउँपालिका २ अन्तर्गत मझौरादेखि बरगाछि हुँदै पटनासम्म माटो तथा ग्राभेल गर्ने कार्यमा वास्तविक कामभन्दा बढी भुक्तानी गरिएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत लगायतका प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
उक्त प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को देहाय (ग) र (ङ) बमोजिम कसुर ठहर गर्दै बिगो १२ लाख ७ हजार २६० रुपैयाँ ४५ पैसा कायम गरी कैद, जरिवाना तथा बिगो असुल उपर गराउन मागदाबी गरिएको थियो । साथै ऐनको दफा १९ (२) बमोजिम थप सजायको माग पनि गरिएको थियो ।
तर विशेष अदालतले मिति २०८१ माघ ९ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो । उक्त फैसला प्रति असन्तुष्टि जनाउँदै आयोगले मिति २०८३ वैशाख ३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको जनाएको छ । आयोगले न्यायिक प्रक्रियामार्फत उक्त प्रकरणमा पुन: सुनुवाइ भई उचित निर्णय हुने अपेक्षा गरेको छ ।






