सिरहा । यात्रुको सुरक्षा र सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सिरहामा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा जडान अनिवार्य गरिएको छ ।
जिल्ला यातायात व्यवस्थापन समितिको ३ वैशाखमा बसेको बैठकले जिल्लाभर सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सवारी साधनमा २० दिनभित्र अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको हो ।
सिरहा, लहान, मिर्चैया लगायत क्षेत्रबाट लामो तथा छोटो दूरीमा सञ्चालन हुने सवारी साधनहरू यस निर्णयको दायरामा पर्नेछन् । निर्णयको कार्यान्वयन र अनुगमन यातायात व्यवस्था कार्यालय लहान तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले नियमित रूपमा गर्ने जनाइएको छ ।
तोकेको समय सीमाभित्र सीसी क्यामेरा जडान नगर्ने सवारी साधनमाथि कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । बरालका अनुसार सबै सवारीधनी, व्यवसायी तथा सम्बन्धित पक्षलाई समयमै निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ ।




