काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ बस्ने रौतहट घर भएका २९ वर्षीय अनन्त कोइराला, काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ बस्ने इलाम घर भएका ४७ वर्षीय जगतबहादुर खड्का, काठमाडौं महानगरपालिका २६ बस्ने तारकेश्वर नगरपालिका ६ घर भएका ५४ वर्षीय ज्ञानु श्रेष्ठ तथा भक्तपुर नगरपालिका १५ बस्ने रामेछाप घर भएका २२ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार अनन्त कोइरालाले फिनल्याण्ड पठाइदिने भन्दै एक जना पीडितबाट ३१ लाख १५ हजार ८७ रुपैयाँ ठगी गरेका थिए । त्यसैगरी, जगतबहादुर खड्काले कतार पठाइदिने भन्दै १ लाख ३९ हजार रुपैयाँ, ज्ञानु श्रेष्ठले युएई पठाइदिने भन्दै ३ लाख रुपैयाँ र विकास श्रेष्ठले साइप्रस पठाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरी टोलीले जगतलाई काठमाडौं महानगरपालिका ३ बाट बुधबार पक्राउ गरेको थियो भने अनन्तलाई काठमाडौं महानगरपालिका–२९ बाट, ज्ञानुलाई काठमाडौं महानगरपालिका २६ बाट र विकासलाई भक्तपुर नगरपालिका १० बाट बिहिबार पक्राउ गरिएको हो ।
पक्राउ मध्ये अनन्त कोइरालालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य तीन जना जगतबहादुर खड्का, ज्ञानु श्रेष्ठ र विकास श्रेष्ठलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






