रौतहट । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा सक्रियता बढाएसँगै श्रोत खुल्न नसकेको नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
रौतहटको राजदेवी नगरपालिका ८ स्थित सोफियामाई नजिकको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी बेलविछवाबाट खटिएको टोलीले सीमा स्तम्भ नम्बर ३४३/२ नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा नगद रकम बरामद गरेको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका अनुसार मोटरसाइकल चालक भारतको सितामढी जिल्लाका ४५ वर्षीय नजिर नटको साथबाट ३ लाख २२ हजार रुपैयाँ र पछाडि सवार सर्लाही घर भएका ५५ वर्षीय मुम्ताज अंसारीको शरीरबाट २ लाख ४९० रुपैयाँ बरामद गरिएको हो ।
दुवै जनाको साथबाट कुल ५ लाख २२ हजार ४९० रुपैयाँ बरामद भएको र उक्त रकमको श्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा डीएसपी प्रेमसागर विष्टले जानकारी दिए ।
सीमा क्षेत्रमा भइरहेको अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीले पछिल्लो समय निगरानी कडा बनाएको जनाएको छ ।




