वीरगन्ज । मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५/२५ मिटर कायम गर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन थालेको हो ।
विगत १३ वर्षदेखि विभिन्न कानुनी झमेलाका कारण यो आयोजना अलपत्र परेको थियो । २०६९ सालमै विस्तारको योजना अघि सारिए पनि स्थानीय घरधनीहरूको विरोध र अदालतमा दायर मुद्दाहरूका कारण काम अघि बढ्न सकेको थिएन ।
सडक विस्तार गर्दा आफ्ना संरचना भत्किने भन्दै करिब १ हजार २ सय घरधनीहरूले २०७६ सालमा मुआब्जा र वैकल्पिक मार्गको माग गर्दै रिट दायर गरेका थिए ।
तर, गत २०८१ फागुन २८ गते सर्वोच्च अदालतले उक्त रिट खारेज गर्दै सरकारको पक्षमा फैसला सुनाएपछि विस्तारका लागि कानुनी बाटो खुला भएको हो । अदालतको अन्तिम फैसलासँगै सडक डिभिजनले प्रक्रियागत तयारी पुरा गरी काम सुरु गरेको हो ।
सडक डिभिजन कार्यालय हेटौँडाका नायब सुब्बा राजकुमार अर्यालका अनुसार, सडक सीमाभित्र पर्ने घर, टहरा र अन्य अवैध संरचनाहरू हटाउन हेटौँडाबाट विशेष रूपमा डोजर, जेसीबी र एक्साभेटरहरू ल्याइएको छ ।
आइतबार बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा संरचना भत्काउने काम भइरहेको छ । सम्भावित तनावलाई मध्यनजर गर्दै महानगरपालिकाको टोली र ठूलो सङ्ख्यामा सुरक्षा निकायलाई परिचालन गरिएको छ ।
गण्डकदेखि मितेरी पुलसम्मको यो सडक विस्तार भएपछि वीरगन्जको ट्राफिक जामको समस्या समाधान हुने र व्यापारिक आवागमन सहज हुने विश्वास गरिएको छ । २५/२५ मिटर विस्तार भएपछि यो सडकले आधुनिक स्वरूप पाउनेछ, जसले वीर गन्जलाई एउटा व्यवस्थित व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुग्ने देखिन्छ ।
लामो समयको अन्योल चिर्दै सुरु भएको यो कामले वीरगन्जवासीमा उत्साह र केही प्रभावित घरधनीहरूमा भने चिन्ता थपिदिएको छ । यद्यपि, नगरको दीर्घकालीन विकासका लागि यो कदम अपरिहार्य रहेको सरोकारवालाहरूको तर्क छ ।




