काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुई उपसचिवसहित एक निर्माण व्यवसायीलाई दोषी ठहर गरेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल र कर्णबहादुर कार्की दोषी ठहर भएका हुन् ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त फैसला सुनाउँदै दुवै उपसचिवलाई जनही २ वर्ष कैद र १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा जरिवाना हुने ठहर गरेको छ ।
त्यसैगरी निर्माण कम्पनीतर्फबाट दिव्य निर्माण सेवाका प्रोप्राइटर भीमराज न्यौपानेलाई पनि २ वर्ष कैद र सोही बराबरको १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा जरिवाना हुने फैसला गरिएको छ ।
अदालतले प्रतिवादीहरूबाट भएको हानी–नोक्सानी बराबरको बिगो रकम जनही १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा असुल गरी त्रिपुरासुन्दरी नगरपालिकाको कोषमा दाखिला गर्न आदेश दिएको छ ।
साथै, ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ अनुसार प्रत्येक प्रतिवादीले जनही ४३ हजार २ सय ७८ रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति शुल्कसमेत बुझाउनु पर्ने फैसलामा उल्लेख गरिएको छ ।






