काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तत्कालीन ब्रहमपुर गाउँ विकास समितिका सचिव देव नारायण साहसहितका प्रतिवादीहरूविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
आयोगका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो १ लाख २८ हजार रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको थियो । सो मुद्दामा विशेष अदालत, काठमाडौंले मिति २०८२ साल असार १ गते आंशिक सफाइ दिने फैसला गरेको थियो ।
विशेष अदालतको उक्त फैसला प्रति चित्त नबुझेपछि अख्तियारले मिति २०८३ साल वैशाख ७ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
अख्तियारले दायर गरेको आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ३ (१) तथा दफा ३(१) को खण्ड (घ) बमोजिम सजायको माग गरिएको थियो । अब सर्वोच्च अदालतमा हुने सुनुवाइपछि यस मुद्दाको अन्तिम टुंगो लाग्नेछ ।






