काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ बस्ने रौतहट बौधीमाई नगरपालिका ७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका ३२ बस्ने भोजपुर नगरपालिका ७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी रहेका छन् ।
यस्तै भक्तपुर मध्यपुर थिमी नगरपालिका १ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका ५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका ३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।
पक्राउ मध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रूपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका १३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका १२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका १ बाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






