सिरहा । चोहर्वा–सिरहा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका ३ खोरिया टोलमा मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो करिब १२ बजे सिरहादेखि मिर्चैयातर्फ जाँदै गरेको प्र २–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
ठक्कर दिने मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।






