जनकपुर । जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ । जानकी नवमीको उपलक्ष्यमा शनिबार बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ ।
जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला द्विप प्रज्ज्वलन गरिँदै आएको छ । द्विप प्रज्ज्वलनमा सम्पूर्ण जनकपुरवासीको सहभागिता हुने गर्छ ।
यता, जानकी मन्दिरले भने शनिबारका दिन भव्यताका साथ मनाउने मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिए । उनले जनकपुर र नेपाललाई विश्वभरि चिनाउने माता सीताको जन्मोत्सवलाई धुमधामका साथ मनाइने बताए ।
उनले शनिबार बिहान जनकपुरधामको दुधमत्ती नदीमा साही स्नान गरिने कार्यक्रम रहेको बताए । सो पश्चात जानकीजीको डोलासहित विशेष गाजा बाजाका साथ नगरपरिक्रमा गर्ने उनले जानकारी दिए ।
जानकी मन्दिरमा विशेष पूजापाठ, मैथिली परम्परा अनुसारका संस्कृतिक कार्यक्रम, नाचगान, महाआरती र महाप्रसादको कार्यक्रम रहेको छोटे महन्थ राम रोशन दासले बताए । जानकी नवमीको अवसरमा जनकपुरधामवासीले आ–आफ्नो घर आंगनमा दिपावली मनाउने गर्छन ।




