धनुषा । जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४ स्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार चितवनबाट पूर्वतर्फ गाईघाट जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको पिपरा गाउँपालिका ७ निवासी २१ वर्षीय अतुल चौधरी गम्भीर घाइते भएका थिए । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
मोटरसाइकलको पछाडि सवार महोत्तरीको जलेश्वर नगरपालिका १ की २३ वर्षीया रागनीकुमारी महतो पनि गम्भीर घाइते भएकी छन् । उनको टाउको तथा शरीरमा चोट लागेको छ र हाल जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका १४ का ३७ वर्षीय युवराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






