सर्लाही । मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या उल्लेखनीय रूपमा बढ्न थालेको छ । गर्मी मौसममा सर्पहरू चिसो स्थानको खोजीमा बाहिर निस्कने र मानिससँगको सम्पर्क बढ्ने भएकाले सर्पदंशका घटना वृद्धि हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय बिरामीको चाप बढेको छ । केन्द्रका अनुसार दैनिक रूपमा १–२ जनादेखि ३–४ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।
उक्त केन्द्रमा गत आर्थिक वर्ष २०८१/०८२ मा ७२४ जना बिरामीको उपचार गरिएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि हालसम्म ४९२ जना बिरामी उपचारका लागि आइसकेका छन् । वैशाख १० गतेसम्म मात्र १२ जना बिरामी उपचारका लागि आएको केन्द्रले जनाएको छ ।
बिरामीको संख्या बढ्दै गए पनि केन्द्रमा अत्यावश्यक आइसियु र भेन्टिलेटर सेवा भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । सर्पदंश उपचार केन्द्रका कोषाध्यक्ष नागेन्द्र चौधरीका अनुसार दक्ष जनशक्तिको अभावका कारण ती उपकरण सञ्चालनमा ल्याउन सकिएको छैन ।
गर्मी बढेसँगै सर्लाहीसँगै रौतहट, सिन्धुली र महोत्तरी जिल्लाबाट समेत बिरामीहरू नवलपुरस्थित केन्द्रमा उपचारका लागि आउन थालेका छन् । चिसो तथा सुक्खा मौसममा दुलोभित्र बस्ने सर्प वर्षा र गर्मी सुरु भएपछि बाहिर निस्कने हुँदा हरेक वर्ष यही समयमा सर्पदंशका घटना बढ्ने गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका अध्यक्ष उद्वव पौडेलका अनुसार बिरामीको चाप बढे पनि आइसियु र भेन्टिलेटर सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति नहुँदा गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रमा एक जना एमबिबिएस डाक्टर भएपनि आइसियु तथा भेन्टिलेटर सञ्चालन सम्बन्धी विशेष तालिम नहुँदा उपकरण प्रयोगमा आउन सकेका छैनन् ।
यसका कारण गम्भीर अवस्थाका बिरामीको उपचारमा समस्या भइरहेको र कतिपयले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएको स्थानीयहरूको गुनासो छ । प्रदेश सरकारको आर्थिक सहयोगमा खरिद गरिएका आइसियु र भेन्टिलेटर व्यवस्थापन तथा सञ्चालनमा स्थानीय सरकार र सम्बन्धित निकाय मौन बसेको भन्दै सरोकारवालाले चासो दिनुपर्ने माग गरेका छन् ।




