रौतहट । भारत–नेपाल सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले चलाएको संयुक्त कारबाहीमा चोरीको सवारी साधन प्रयोग गरी कपडा तस्करी गर्ने गिरोहका सदस्य तथा अवैध रूपमा मल भण्डारण गर्ने समूहका व्यक्तिहरू पक्राउ परेका छन् ।
प्राप्त जानकारी अनुसार भारततर्फको झरोखर प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले विशेष सूचनाका आधारमा खान तलासी गर्दा चकिया प्रहरी चौकी क्षेत्रबाट चोरी भएको भारतीय नम्बर प्लेटको सवारी साधनमा भन्सार छलीका लत्ता कपडा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एक नेपाली युवकसहित दुई जनालाई रङ्गेहात पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तस्करहरूले सुरक्षा निकायलाई छल्न चोरीको सवारी साधन प्रयोग गरी ठूलो परिमाणमा कपडा नेपाल भित्र्याउने योजना बनाएका थिए । पक्राउ परेकाहरूलाई बरामद सामाग्री तथा सवारी साधनसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । साथै, गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
यसैबीच, सोही क्षेत्रमा अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणमा मल पनि बरामद गरिएको छ । भारतको एसएसबी ७१ बटालियन, मोतिहारीबाट प्राप्त सूचनाका आधारमा रक्सौल नजिकको रेगनिया गाउँस्थित एक गोदाममा छापा मारिएको थियो ।
सीएचक्यू बरहरवा, जितना प्रहरी तथा कृषि प्राविधिकको संयुक्त टोलीले गरेको उक्त कारबाहीमा ५० केजीका ६१ बोरा एनपीके मल बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीले जानकारी दिए ।
कारबाहीका क्रममा घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत बरामद गरिएको छ भने दुई भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत, बिहार पूर्वी चम्पारणका शत्रुधन कुमार र सुनिल यादव तथा नेपाल, बारा सिम्रौनगढका इम्तियाज रहेका छन् ।
बरामद गरिएको मल, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जितना प्रहरी कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ ।




