रौतहट । रौतहटमा आइतबार पोखरीमा डुबेर एक बालककोे मृत्यु भएको छ । दुर्गा भगवती गाउँपालिका १ गंगापिपरास्थित ब्रह्मस्थान नजिकको पोखरीमा डुबेर एक पाँच वर्षीय बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ ।
मृत्यु हुनेमा दुर्गा भगवती १ गंगापिपराका गौरीशंकर साह कलवारका पाँच वर्षीय छोरा कृष साह रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गंगापिपराका अनुसार साँझ करिब ६ बजेतिर नुहाउन गएका कृष पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
बालक बेपत्ता भएपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल खोजी कार्य सुरु गरेको थियो । करिब ४५ मिनेटको निरन्तर खोजीपछि कृषलाई पोखरीबाट उद्धार गरिएको दुर्गा भगवती गाउँपालिका वडा १ का वडा अध्यक्ष प्रद्युमन चौधरीले जानकारी दिए ।




