महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ८ भरलेहनीस्थित मुसहर बस्तीमा एक महिलामाथि कुटपिट र जबरजस्ती करणी भएको छ । शनिबार राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा दुई जना व्यक्ति प्रवेश गरी २५ वर्षीया महिलामाथि आक्रमण र जबरजस्ती करणी गरेका हुन् ।
प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार आरोपितहरूले पीडित महिलाका साथै उनका तीन जना साना छोरीहरूलाई समेत कुटपिट गरेका छन् । पीडितका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा रहेको बताइएको छ । पीडित महिलाले आफू र आफ्ना बालबालिकामाथि निर्घात कुटपिट गर्दै जबरजस्ती गरिएको भन्दै न्यायका लागि अपील गरेकी छिन् ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय गौशालाले संलग्नताको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्र भट्टले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
कुटपिटबाट घाइते भएकी महिलाको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचार र स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । यस घटनाले स्थानीय मुसहर बस्तीका बासिन्दा त्रसित र आक्रोशित बनेका छन् ।




