रौतहट । रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिकाको बैंक खाता बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको निवेदनका आधारमा गएको शुक्रबार गौर नगरपालिकाको खाता लेखा अधिकृत छैटौँ सोहेल अन्सारीको नाममा सञ्चालन गरिएको थियो ।
तर खाता सञ्चालन भएको केही घण्टामै विवाद उत्पन्न भई पुन: बन्द गरिएको हो । लेखा अधिकृत सातौँ सोहनकुमार यादवले आफू वरिष्ठ कर्मचारी भएको दाबी गर्दै आफ्नो नाममा खाता सञ्चालन हुनुपर्ने मागसहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा निवेदन दिएका थिए ।
सोही निवेदनपछि कार्यालयले नगरपालिकाका सबै बैंक खाता बन्द गरेको जनाएको छ । नगरपालिकाका अनुसार २०८२ चैत २४ गते बसेको नगर कार्यपालिकाको बैठकले लेखा अधिकृत अन्सारीकै नाममा खाता सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७७ मङ्सिरदेखि नै अन्सारीकै नाममा खाता सञ्चालन हुँदै आएको थियो ।
साथै, लेखा अधिकृत यादवले अन्य पालिकामा सरुवा सहमति लिएको आधारमा पनि सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख शम्भु साहका अनुसार विगतमा अन्सारीको नाममा खाता सञ्चालन हुँदा यादवले कुनै आपत्ति जनाएका थिएनन् । तर अहिले आएर असहमति जनाउँदा समस्या सिर्जना भएको उनले बताए ।
यादवलाई हाल आर्थिक विकास शाखा प्रमुखको जिम्मेवारी दिइएको पनि उनले जानकारी दिए । यता, लेखा अधिकृत यादवले भने आफू वरिष्ठ लेखा अधिकृत भएकाले आफ्नो नाममा खाता सञ्चालन हुनुपर्ने भन्दै निवेदन दिएको बताएका छन् ।
चार वर्षदेखि नगरपालिकाले आफूलाई काममा नलगाई पूर्वाग्रह राखेको उनको गुनासो छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार नगरपालिकाको आग्रहमा शुक्रबार खाता सञ्चालन गरिएको भएपनि वरिष्ठ कर्मचारीको निवेदनपछि खाता बन्द गरिएको हो ।
अब महालेखा नियन्त्रक कार्यालय वा जिल्ला प्रशासन कार्यालयको लिखित निर्देशन आएपछि मात्र खाता पुन: सञ्चालन हुने उनले बताए । खाता बन्द भएपछि नगरपालिकाका नियमित आर्थिक गतिविधि, भुक्तानी प्रक्रिया तथा सेवा प्रवाह प्रभावित भएको छ ।




