रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका १ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहिबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने उद्धार कार्य जारी रहेको छ । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाने यात्रु बोकेर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यसैबीच, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले रुकुमपूर्वबाट रोल्पाको थवाङ १ जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जना नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
मृतकमध्ये अधिकांश रुकुमपूर्वको सिस्ने ५ टाकुराका बासिन्दा रहेको उल्लेख गर्दै उनले सम्पूर्ण मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रचण्डले घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । साथै सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन पार्टी पंक्तिलाई निर्देशन दिए ।
यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा उपाय सुदृढ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।






